Monday, January 19, 2009
सिक्किमको मौलिक कला काठको मुखौटो निर्माणमा कलाकारहरूको अभाव
गान्तोक,19जनवरी।सिक्किमको हस्त शिल्प र हथकर्घा उत्पादनमा छुट्टै विशेषता बोक्ने विधा हो काठको मुखौटो बनाउने कला । बौद्धवादसित सम्बन्धित यसप्रकारको काष्ठकला सिक्किमको परम्परासित जोडिएको महाकाला र कंचनजंघाको मुखौटो बनाउने प्रचलन परापूर्वकालदेखिको भए पनि अहिले यो कलालाई धानेर राख्ने शिल्पीहरूको न्यूनताले अस्तित्वमा सङ्कट आउने स्थिति देखिएको छ। यही क्रम निरन्तर रहेमा कुनै दिन केवल सङ्ग्राहलयमा मात्र सिमित हुने अवस्था नरहला भन्न सकिन्न।
राज्य कै प्रथम मुखौटो बनाउने कलाकार उत्तर सिक्किमको तिङचिम निवासी एक भोटिया परिवारका तीन पुस्ताले यो भार बहन गरिरहेको छ आजपर्यन्त। तर अब उसोको पुस्ताले यही कलालाई निरन्तरता दिने कुरामा बाबु-बाजेबाट विरासतमा सिकेको कलाको एकमात्र शिक्षक डुडूक भोटिया यसो भन्छन्, मेरो बाजेले तिब्बत जाँदा 1940 तिर कागजमा जेङ्गा र माहाकालाको मुखौटो बनाएको देखी सिक्किममा आएर काठको मुखौटो सिक्किमे परम्परामा ढालेर बनाउन शुरू गरे।उनले शुरू गरेको सो कार्यलाई मेरो पिताले 1964 देखि निरन्तरता दिए। तर मैले 1977 सालदेखि यो कला सिकेको हुँ जो आजसम्म बचाएर ऱाखेको छु। तर मेरो आउँदो पुस्ताले यो सिक्ला भन्ने उति विश्वास छैन, छोराहरू सबै बाहिर पढ्ने भए कला सिक्न साधना चाहिन्छ घरमा बस्नु पऱ्यो।
विशेष रूपमा गुम्पाको निम्ति बनाइने यी मुखौटो 55 प्रकारको हुने गरेरेको डुडुक बताउँछन्। जसमा विशेष रूपले महाकाला र कंचनजंघाको महत्व छुट्टै मानिन्छ, यसका साथै बाह्र राशी जसलाई सिक्किमे बौद्धबादमा लोखोर चुनी भनिन्छ त्यसको अर्कै महत्व छ। गुम्बाहरूमा विभिन्न पर्वहरूमा नृत्य गर्दा सो मुखौटो लगाएर विभिन्न प्राणी र परलौकिक अनुहारलाई प्रस्तुत गरिन्छ। महाकाला जो तिब्बतबाट आफ्नो बाजेले कागजमा बनाउने कलाबाट काठमा उतारे भने रचंनजघाको मुखौटो भने मौलिक रूपमा सिक्किमकै सिर्जना हुनसक्ने उनी थप्छन्। यद्यपी महाकालामा तिब्बती प्रभाव रहेको भएपनि सिक्किमे बौद्ध परम्पराको पवित्र पर्व पाङ्ल्हाब सोलमा यी दुबै मुखौटो लगाएर नृत्य (छाम) गरिने हुनाले सिक्कमको मौलिक उपज भएको छ।
सरकारले गान्तोक स्थित हस्त शिल्प तथा हथकर्घा निदेशालयमा विगत 1992देखि डुडुक कै प्रशिक्षणमा मुखौटो निर्माण गर्ने कलाकारहरूको उत्पादनको निम्ति युवाहरूलाई भत्ता समेत दिएर प्रशिक्षण दिने गरेको छ। तर यहाँ केवल तीन वर्षको मात्र प्रशिक्षण दिइने भएकोले मुखौटोको 55 प्रकार कलालाई भने प्रसिक्षणार्थीहरूले छिचोल्न सक्दैनन् जसले गर्दा अहिले सम्म बाचेको 55 प्रकारको मुखौटो भविष्यमा सिमित बन्न जाने डुडुकको भनाइ छ।
गुम्बामा प्रयोग गरिने यी मुखौटोहरू अहिले विश्वस्तरमा सिक्किमे कलाको एउटा परिचय बनिसकेको छ। यसै कला मार्फत प्रशिक्षक डुडुकले 1992,94,97,99मा राष्ट्रीय स्तरको पुरस्कार टेक्सटाइल मन्त्रालय भारत सरकारबाट प्राप्त गरिसकेका छन्। यसरी नै राज्यस्तरको पुरस्कारले पनि उनी सम्मानीत भएका छन्।
परम्परा र सिक्किमको चिन्हारी बचाउने क्रममा एक्लो परिवार तिन पुस्तादेखि लागि परेको छ। सरकारले दिएको प्रशिक्षणबाट केवल व्यावसायीक मुखौटो उत्पादकहरू नि्स्केका छन् तर सैद्धान्तिक रूपमा 55 प्रकारकै मुखौटो बनाउन सिक्नको निम्ति 3 वर्षको समयसिमा छोटो हुने गरेको उनी बताउँछन् उनले आफ्नो पिताबाट 9 वर्षको उमेर देखि प्रशिक्षण लिएर 21 वर्षमामात्र सफल बनेको अनुभावले नै यो कला व्यावसायीक भन्दा पनि साधना हो भन्ने पुष्टि हुन्छ। छोटो अवधीमा केवल दुइ तीन प्रकारको मुखौटो बनाउने कला सिक्ने सकिने तर बाँकि कला त्यसै मरेर जाने डर उनलाई छ।
महाकाला र कंचनजङ्घामा पनि विबिन्न प्रकारको रङर भेद रहेको उनी बताउँछन् जसमा महाकालाको 6 प्रकार तथा कंचनजङ्घाको एकै रङ हुने जानकारी दिन्छन्। सिक्किमे मौलिकताको प्रसङ्गमा सबै मुखौटो आध्यत्मिक तथा परलौकिक संसारलाई लिएर रचना गरिने बताउदे सबै प्रकारको कलामा तीनवटा आँखा रहनु सिक्किमे कलाको विशेषता रहेको जानकारी गराए।
विशेष अवसरहरूमा गुम्बामा नाचिने छाम(नृत्य) हरूमा प्रयोग गरिने मुखौटोहरूको सेट 55 वटाको हुने गर्छ सो तयार गर्ने क्षमता कमै कलाकारहरूमा रहेको छ। जसले गर्दा भविष्यमा सिक्किमे मुकौटो(मास्क) कला लोप हुने संकेत स्पष्ट छ। यति मात्र होइन हाल सरकारी प्रशिक्षणमा वल एकजना युवामात्र प्रशिक्षण लिइरहेका थिए।
युवा वर्गले यो कलालाई महत्वको साथमा सिक्न सके अर्थौउत्पादन पनि मनग्गे हुने डुडुकको भनाइ छ। प्रति मुखौटो 3 सय देखि 20 हजार रूपियाँ सम्ममा बिक्री हुन्छ। विदेशमा झन यसको माग धेरै छ तर स्थानीयहरूकै माग पुरा गर्ने कलाकार हामी सित छैन,दुखेसो कलाकार डुडुकको ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment