Pages

Sunday, March 22, 2009

यसपालीको चुनाउमा छाताको करङ होइन जनताले डण्ठी नै फेर्ने छनः भण्डारी



गान्तोक,22 मार्च। सिक्किम प्रदेश कंग्रेसका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले आफ्नो निर्वाचन क्षेत्र सिङ्गताम-खाम्दोङमा पहिलो चुनावी जनसभालाई सम्बोधन गर्दै आगामी विधानसभा चुनाउमा सिक्किममा अनि लोकसभा चुनाउमा दिल्लीमा कंग्रेसको सरकार बनिने ठोकुवा गर्दै जनतालाई कंग्रेसको सरकार आएमा हुने फाइदा र योजनाहरूको विस्तृत जानकारी दिए।

सिङ्गताम खाम्दोङ निर्वाचन क्षेत्रको सुमिक आरीटारमा आइतबार आयोजित जनसभामा भण्डारीले अपार जनसमुहलाई सम्बोधन गर्दै भने,हामीले जनताले रोजेका प्रतिनिधिलाई टिकट दिएर जनताको काम गराउन चुनाउमा खडा गराएका छौ। यसपालीको चुनाउले विगत 15 वर्षदेखि एसडीएफ सरकारको तानाशाहामा पेलिएका सिक्किमे जनताले कंग्रेसको जनमुखी सरकार गठन पछि छुट्कारा पाउनेछन्।

उनले चुनावी मिठासले भरिएका पार्टीका रणनीति जनतासमक्ष राख्दै विकास र साहुलिय़तका पोका खोले। भण्डारीले आगामी सरकार कुनै पनि अवस्थामा कंग्रेसको हुने जनतामा विश्वास दिलाउदै कंग्रेसको सरकारमा गरीब जनतालाई 3 रूपियाँ किलो चामल, घर-घरमा ऱङ्गीन टेलिभिजन, गाँउलेहरूलाई बिजुली र पानी निःशुल्क, स्नातकतह सम्मको शिक्षा तथा स्वास्थ्य उपचार निशुल्क गरिने घोषणा गरे।

यसका साथै वर्तमान एसडीएफ सरकारले पर्यावरण बचाउने उद्देश्यले सिक्किमको वन जङ्गलहरूलमा पशु चरणमाथिको पाबन्दी,वनविभागको जमीनमा बस्ने जनतालाई उनीहरूको घडेरी सुनिश्चित गर्ने, राज्यभरि कुनै रोड परमिट र शुल्क विना नै वहानहरू चलाचल गर्ने सुविधा आदिको घोषणा जनता समक्ष गरे।

राज्यको वर्तमान सरकारले वर्ष 2006मा सरकारी कर्मचारीहरूको वेतन वृद्धि भएर पनि अहिले सम्म वेतनआयोग राखेर पैसा भुक्तान गर्ने नसकेको आरोप लगाउँदै उनले सरकारी कर्मचारीहरूको हितमा कंग्रेस सरकार गठन हुने दावी गरे। उनले भने साना ओहोदामा रहेका कर्मचारीहरूको पदोन्नती हुँदैन तर हाम्रो सरकारमा तलबमा उन्नती गर्छौ। होमगार्डले पनि हाम्रो सरकारमा सात हजार रूपियाँ तलब पाउने छ।

वेरोजगार समस्या समाधानको निम्ति पनि सरकारले नीति बनाएको बताउँदै भण्डारीले सरकार गठन भएको एक वर्षमा 10 हजार बेरोजगारहरूलाई नोकरी प्रदान गर्ने तथा पाँच वर्षभित्रमा राज्यबाट बोरेदगार मुक्त पार्ने जनताको अघि सङ्कल्प गरे।यसका साथै सरकारले घर-घरमा सर्वेक्षण गरेर नोकरी नभएको घरमा छानेर नोकरी प्रदान गर्ने बताए।

एसडीएफ सरकारमा तयार पारिएक प्रोफेसर बी के रोयबर्मन आयोगको प्रतिवेदन अब काम नलाग्ने बताउँदै भण्डारीले भने सिक्किमे जनता आयोगको प्रतिवेदन काम लाग्छ अब दिल्लीमा गएर अस्ति त्यो रोय बर्मनको प्रतिवेदन सकिदिएका छौ अब चल्दैन,यसको कुरा नगरे हुन्छ। यसै गरी राज्यको विधान सभामा सिक्किमे भोटे लाप्चेको निम्ति आरक्षीत 13 वटा आसन कुनै हालतमा नमेटिने बताउँदै उनले भने, सिक्किममा भण्डारी भएसम्म कसैले भोटे-लाप्चेको 13वटा आसन खोस्न पाँउदैन, भारतको सर्वोच्च न्यायालयमा लडेर हामीले ल्याएको आसनमा कसैको केही चल्दैन।

यसका साथै केही दिन अघि मुख्यमन्त्री पवन चामलिङले आफ्नो चिन्ह छाताको करङ स्वरूप रहेका विधायक र मन्त्रीहरू यसपालीको चुनाउमा जनताले परिवर्तन गर्ने माग गरेको बताउँदै छाताको डण्ठी राम्रै छ करङ फेर्ने मन्तव्य दिएका थिए। उनको उक्त मन्तव्यलाई भण्डारीले भने, जनताले एसडीएफको छाताको करङ होइन डण्ठी नै फेर्ने विचार गरीसकेका छन्। यसपाली छाताको डण्ठी र करङ केही रहदैन।

No comments: