Pages

Monday, January 19, 2009

गोर्खाल्यण्डको आन्दोलनमा सिक्किमले आफ्नो गाँस काटेर सहयोग गर्नु पर्छः डा एडी

गान्तोक, 19 जनवरी। गोर्खाल्याण्डको आन्दोलनलाई सिक्किमेले आफ्नो छिमेकीको आन्दोलन मात्र नठानेर 1986को दशकमा जस्तै आफ्नो भागबाट पस्केको भातको आधा भाग आन्दोलनकारीहरूलाई दिएर समर्थन गर्ने दिन आएको तथा आफ्नो दाज्यु-भाइले अधिकार पाउँछ भने त्यसमा सहयोग गर्नु पर्ने सिक्किमेको कर्तव्य रहेको सिक्किम हिमाली राज्य पार्टी (सिहिराप)-ले घोषणा गरेको छ। छुट्टै राज्य गोर्खाल्यण्डको आन्दोलनकारीहरूमाथि डुवर्स र सालुगढामा भएको बर्बरतापूर्ण कार्वाहीप्रति सिक्किमको विपक्षी दल सिहिरापले भत्सर्ना जनाउँदै केन्द्र र राज्य सरकारले चाँडो भन्दा चाँडो समस्याको समाधान गर्नु पर्ने माग गरेकोछ।

पार्टी मुख्यालयमा आईतबार डाकिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष डा. ए डी सुब्बाले भने, आज बिमल गुरङको नेतृत्वमा गोर्खाल्याण्डको आन्दोलन अहिंसात्मक ढङ्गमा संचालन भइरहेको छ तर केन्द्र र राज्य सरकारले यसलाई अहिंसात्मकरूप मै समाधान गरेन भने स्थिति बिग्रेर जाने छ। डुवर्स र सालुगढामा जो भयो त्यो नहुनु पर्ने थियो अब बङ्गाल र केन्द्र सरकारले चाँडो फैसला दिनु पर्छ, उनले भने।
डा.सुब्बाले गोर्खाल्याण्ड मुद्दामा पवन चामलिङको नतृत्वमा रहेको एसडीएफ सरकार र मुख्यमन्त्री चामलिङ स्वयं इमान्दार नरहेको आरोप लगाउदै भने, सुबास घिसिङसित चामलिङको बैमनश्यता थियो र बिमल गुरूङलाई घिसिङलाई हटाउने बेलामा सहयोग गर्छु भन्नेले घिसिङलाई हटाएर आन्दोलन थाले पछि बाटो रोक्यो भनेर खेताला लगाएर सुपरिम कोर्टमा मुद्दा हल्यो यसैले स्पष्ट हुन्छ गोर्खाल्यण्डबारे मुख्यमन्त्री चामलिङ इमान्दार छैन भन्ने कुरा ।

उनले अझ भने गोर्खाल्याण्डको प्रस्ताव विधानसभामा पारित गर्छु भनेर गोजमुमो खोलिनु भन्दा पहिले दार्जीलिह भ्रमणमा जाँदा चामलिङले दिएको बचन किन पुरा गरेन? यदि गोर्खाल्यण्डको निम्ति चामलिङ सांच्चै इमान्दार छ भने अहिले आन्दोलनले हिसांत्मक रूप लिइसकेको छ। यसलाई रोक्न किन कडा कदम चाल्दैन, सुपरिमकोर्टबाट किन मुद्दा फिर्ता गर्दैन? उनले प्रश्नहरुको ओइरो लगाए।

यसरी नै सिहिरापका प्रवक्ता तथा महासचिव तारा श्रेष्ठले भने, आफ्नो समुदायको मान्छेले केही पाउन केही गुमाउनु पर्छ भने सिक्किम तयार छ। युगौसम्म बाटो बन्द भएर आन्दोलन चलिरहनु भन्दा केही समय बाटो बन्द गरेर आन्दोलन चर्काएर लक्ष्यमा पुग्नु बेश हो यसमा सिक्किमेले मुद्दा हाल्ने र विरोध गर्ने काम छैन्, उनले थपे।

आन्दोलनको बारेमा सिक्किम सरकारको भूमिका इमान्दार हुनु पर्ने विषयमा नै जोड दिंदै श्रेष्टले भने आन्दोलन उग्र हुँदै छ य़समा सिक्किम सरकारको भूमिका इमान्दार हुनुपर्छ दोहोरो मापदण्ड राखेर कुरा गर्नु हुँदैन। सिक्किमको मुख्यमन्त्री प्रति छिमेकीको ठूलो आशा छ तर उनी आफै यसमा इमान्दार छैनन्. उनले भने।

No comments: